वाइडबडीको ऋणको किस्ता समयमै नतिरेपछि सञ्चय कोषले माग्यो बैंक स्टेटमेन्ट

3

काठमाडौं । वाइडबडी विमानमा गरेको ऋणको किस्ता समयमै नतिरेपछि नेपाल वायु सेवा निगमलाई कर्मचारी सञ्चय कोषले ‘रिमाइन्डर लेटर’ लेखेको छ । पुस मसान्तसम्म निगमले वाइडबडीको चौमासिक किस्ता नबुझाएपछि कर्मचारी सञ्चय कोषले यस्तो पत्र लेखेको हो ।

निगमले वाइडबडीको किस्ताबापत ४० करोड २३ लाख रुपैयाा तिर्नुपथ्र्यो । तर, उसले न्यारोबडीको ३३ करोड ९ लाख किस्ता मात्रै तिरेको थियो ।

पुस २९ गते कोष र निगमबीच भएको छलफलमा निगमले पुरै किस्ता रकम तिर्न नसकिने आशय व्यक्त गरेको थियो । तर, कोषले पुरै किस्ता दाखिला गर्न अनुरोध गरेको थियो ।

‘निगमले वाइडबडी आयो, तर, लक्षित गन्तब्यमा उडान नपाउँदा किस्ता तिर्न गाह्रो पर्‍यो भनेको थियो,’ कोषका एक उच्च अधिकारीले भने,’हामीले जसरी पनि तिर्नुस् भनेका हौं, तर तिरिएन ।’

अब कोषले निगमलाई मंगलबार पत्र काटेर तुरुन्त बाँकी किस्ता तिर्न अनुरोध गरेको छ । यस्तै निगमको सबै बैंक खाताका स्टेन्टमेन्ट पनि तुरुन्त कोषमा पेश गर्न भनेको छ ।

‘हामीले त्यहाँको आन्तरिक तथा व्यवस्थापनबारे अडिट गर्न चाहेका छौं । यसका लागि हामीलाई सघाउन निगमलाई भनेका छौं,’ ती अधिकारीले भने,’अब हामी निगमको आम्दानी, खर्च, आन्तरिक व्यवस्थापन लगायतको परीक्षण गर्छौं । यो ऋण सम्झौतामा उल्लेख भएकै व्यवस्था बमोजिम हुन्छ ।’

ती अधिकारीका अनुसार निगमले वित्तीय अवस्था खराब भएको देखाउन मात्रै किस्ता नतिरेको हो कि साँच्चिकै तिर्न नसकेको अब कोषले हेर्नेछ । निगमले केही समयअघि निगम वित्तीय संकटमा फसेको भन्दै सरकार गुहारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here