दिल्लीमा स्वाइन फ्लूका कारण ११ को मृत्यु, नेपालमा भित्रिन सक्ने खतरा

6

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लूका कारण यस वर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्कमा जनाइएको छ ।

तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लू प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक रूपमा प्रचार नगरिकन निदानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताएका छन् ।

गत वर्ष स्वाइन फ्लूका बिरामीको संख्या २०५ रहेको र दुई जनाको मृत्यु भएको थियो । यस वर्ष उक्त संख्या निकै धेरै देखिएको बताइएको छ । जनवरी २९ सम्म स्वाइन फ्लूका विबामीको संख्या ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको संख्यामा दोब्बर देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छन् ।

दिल्ली सरकारले आफ्ना सबै अस्पतालमा चाहिने औषधि, खोप, तथा अन्य उपचारका सामग्रीको बेलैमा स्थानीय तहमा खरिद गरी विरामीलाई स्वास्थ्य सेवाको कमी हुन नदिन सावधानी गराइएको बताएको छ ।

भारतसँग खुल्ला सीमा रहेको नेपालमा पनि यो रोग भित्रिन सक्ने खतरा रहेको छ । नेपालीहरु विभिन्न कामका लागि भारत जाने–आउने क्रम भइरहने भएका कारण पनि यो रोगको संक्रमण नेपालमा भित्रिन सक्ने देखिएको छ । यसका लागि सरकारी तहमै उच्च सतर्कता अपनाउन जरुरी देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here