कहाँ पुग्यो विद्यार्थी आन्दोलन?

5

पटक-पटक छलफल र बहस गरिनु पर्ने महत्वपूर्ण र विशिष्ठ मुद्धा भनेको-हालको विद्यार्थी आन्दोलनको स्थिति हो। स्पष्ट भन्नु पर्दा, हाल आएर विद्यार्थी आन्दोलन र यसको अस्थित्व माथि प्रश्न चिह्न उठेको अवस्था छ। ‘विद्यार्थी संगठनहरुले उठान गरेका विशेष मुद्धा के ? विद्यार्थी आन्दोलनको हालको उपलब्धी के ? कहाँ पुग्यो विद्यार्थी आन्दोलन? अबको विद्यार्थी आन्दोलनको रोड म्याप कस्तो रहने ?’ आजको दिनमा यस्ता यावत् सवालहरु माझ छ-विद्यार्थी आन्दोलन!

विद्यार्थी आन्दोलन यो धरासाही स्थितिमा आइ पुग्नुमा कमजोरी कसको ? यसरी औचित्य माथिको औँला ठड्याइलाई बेवास्ता गर्नु विद्यार्थी राजनैतिक अभियन्ताहरुको कमजोरी अवश्य हो। विद्यार्थी आन्दोलन वर्तमानमा विचलित छ भनेर अध्ययन गर्नु पूर्व यसको प्रारम्भ र विकासको गर्वीलो इतिहास माथि पनि विचार गर्नु पर्ने हुन्छ किनकी आजको विद्यार्थी राजनीतिकोे थाङ्ग्रो भने कै हिजोका यूवा विद्यार्थी मोर्चाको संघर्षशिल बलिदानी हो।

विगत फर्केर हेर्दा नेपाललाई नेपाल बनाउन विद्यार्थी मोर्चाबन्दी र उनीहरुले बोकेको आन्दोलनका मुद्दाहरुको भूमिका महत्वपूर्ण र प्रशंसनीय बन्न जान्छ। हाल आएर विद्यार्थी संगठनहरुको कुनै एउटा निर्दिष्ट उद्देश्य बनेको छैन जसमा तिनीहरुको बैचारिकता र आन्दोलन केन्द्रिकृत बनेको होस्। अर्को कुरा, पार्टीको संरचनामा भित्र आफ्नो सांगठानिक गतिविधिलाई जोडेर विद्यार्थी राजनीति किमार्थ अघि बढ्नै सक्दैन।

भुमिराज अधिकारी

यस बाहेक पनि बीच बीचमा विद्यार्थी मुद्धाहरुलाई सरकारसँग जोड्ने, शैक्षिक कुरीतिका विरुद्धमा सृजनशिल आन्दोलन चलाउने मात्र नभएर राजनैतिक सवालमा पनि ठूला ठूला रक्तपात युक्त आन्दोलन देखि वैचारिक आन्दोलनमा काँध थापेर लागेको विद्यार्थी राजनीति र विद्यार्थी संगठनको यो मुलुकलाई नेपाल बनाउनुमा अति नै महत्वपूर्ण भूमिका रहेको सर्वविदितै छ। चाहे उपभोक्ता अधिकारको लागि होस, या किसान मजदुर, सिमान्तकृत पिडित शोसित सबैको हक र अधिकारको माग र सुनिश्चितामा जिम्वेवारी पूर्वक निरन्तर संघर्षशिल विद्यार्थी अभियान हाल आएर धरासाही बन्नुमा संगठनको नेतृत्व र हालको राजनैतिक परिवेश मूख्य जिम्मेवार रहनुपर्छ।

गर्विलो र दर्भिलो पृष्ठ भूमि बोकेको, लामो अनुभव सहितको र अत्याधिक प्रयोगमा रहेको नेपालको विद्यार्थी राजनीतिको वर्तमान भने घिन लाग्दो बनेको छ। हाल आएर विद्यार्थी संगठनहरुको कुनै एउटा निर्दिष्ट उद्देश्य बनेको छैन जसमा तिनीहरुको बैचारिकता र आन्दोलन केन्द्रिकृत बनेको होस्।

उचित कार्यदिशाको अभाव, कमजोर वैचारिक धरातल र राजनैतिक स्वार्थ पूर्तिको आधारको रुपमा विद्यार्थी संगठनलाई लिइनुले हालको परिस्थितिमा विद्यार्थी आन्दोलन विचलित बनेको छ। केही सार्वजनिक कलेजहरूमा थोरै जमातमा रहेका विद्यार्थी संगठनहरू विद्यार्थी हकहितको निम्ति भन्दा पनि, कसले कति विद्यार्थी छिराएबापतको कमिशन उठाउन, शैक्षिक संस्थामा अनावश्यक हडताल, स्रोतसाधनको दुरूपयोग र सरुवा–बढुवामा मात्र केन्द्रित छन्।

यो बेला विद्यार्थी संगठनहरु एकिकृत माइण्डफोर्स प्रयोग गरेर विश्वविद्यालयको शैक्षिण गुणस्तरियताको निम्ति सृजनशिल आन्दोलनमा पूर्ण रुपमा लाग्नु पर्दछ। अहिले संघीयतामा मुलुक गइ सके पछि त्यही अनुरुपको शैक्षिक मोडालिटी अपनाउन सक्दा शिक्षा उत्पादनशिल हुन्छ।

आफ्नो संगठन र प्रभावलाई विस्तार गर्न विद्यार्थी संगठनलाई आधार सूत्रको रुपमा प्रयोग गर्ने नेपालका राजनैतिक दलहरुले नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) आदि जस्ता मूल विद्यार्थी संगठनको मूल एजेण्डालाई निस्तेज पारे, पार्टीको स्वार्थगत आन्दोलनमा मसाल बोक्न र टायर बाल्न विद्यार्थी संगठनलाई ‘युज’ गर्ने गरेका छन्। वैकल्पिक विद्यार्थी आन्दोलनको शंखघोष गर्दै अगाडि आएको नयाँ शक्ति विद्यार्थी युनियन पनि मूल पार्टीको ढुलमुल र टुटफुट भित्र आफ्नै अस्तित्व खोजि रहेको छ।

अब विद्यार्थी आन्दोलनको औचित्य नै सकिएको हो त ? भन्ने सवाल सर्वत्र उठ्ने गरेको छ। त्यसो त विद्यार्थी संगठनले बेला बेलामा आफ्नो आन्दोलन र संघर्षको शैलि र मुद्धामा पनि वैचारिक छलफल गरेर फेरवदल गर्न सक्नु पर्यो
तर त्यसो हुन सकेन यसको दोस अरु कसैलाई नदिएर सिंगो पार्टी पंक्ति एवम् स्वयम् अध्ययन र गन्तव्यहीन विद्यार्थी अभियन्ता आफैंले लिनुपर्छ। २०४६ को आन्दोलन पछि पञ्चायत स्वाहा भइ सकेको अवस्थामा त्यसै अनुसारको विद्यार्थी मुभमेन्ट र मुद्दा जन्माउन सक्नु पर्ने थियो, त्यो हुन सकेन। छलफल र बहसहरु यदाकदा सुनिने दन्त्य कथा जस्तै भएका छन् र पनि निरर्थक तथा गन्तव्यहिन छन् जसले कुनै ठोस दिशा र निर्णय लिन सकेको पाइन्न। साना तिना झारेझुरे मुद्दामा घुमि रहेर विद्यार्थी संगठनहरु आफ्नो औचित्य पुष्टि गर्नै असफल हुँदै छन्।

२०६२/६३को आन्दोलन सकिए पछि संविधानसभाको प्रकृयामा गइसकेको मुलुकमा संविधान बाटै विद्यार्थी हक अधिकार सुनिश्चिता, पारदर्शी शैक्षिक वातावरण, विश्वस्तरीय विश्वविद्यालयको स्थापना, शैक्षिक ऋणको उपलब्धता आदि मुद्धा सहितको अभियान सञ्चालन गरी संविधानमा आफ्नो महत्वपूर्ण उपस्थिति देखाई उपलब्धी हात पार्न तर्फ विद्यार्थी आन्दोलन केन्द्रित हुनु आवश्यक थियो तर विडम्बना त्यसयता विद्यार्थी संगठन संविधान सभामा आफ्नो मातृ पार्टीको अधिपत्यता जमाउन चुनावी अभियान लागि पर्यो र दुई पटकको संविधानसभाको चुनावी माहोलमा पूर्ण रुपमा सबै विद्यार्थी संगठन युज नै भए।

खास गरी यो समय सबैखाले राजनैतिक आन्दोलनहरुले निकास पाइ सकेको र संविधान कार्यान्वयनको दिशामा देश अगाडि बढि रहेको बेला, विद्यार्थी आन्दोलनको आवश्यकता अति नै महत्वपूर्ण हुन आउँछ। यो बेला विद्यार्थी संगठनहरु एकिकृत माइण्डफोर्स प्रयोग गरेर विश्वविद्यालयको शैक्षिण गुणस्तरियताको निम्ति सृजनशिल आन्दोलनमा पूर्ण रुपमा लाग्नु पर्दछ।

विश्वविद्यालयलाई राजनैतिक भर्ति केन्द्र नै बनाइएको छ। क्षमताका आधारणमा प्राध्यापकहरुको दरबन्दी गराउने हो भने पनि विश्वविद्यालयहरुको शैक्षिक स्तर आधा भन्दा बढी सुधार हुन्थ्यो। मेरो व्यक्तिगत अनुभवका आधारमा भन्दा देशका धेरै क्याम्पसहरुमा रिसर्च विभागका प्रमूख बनेका प्राध्यापकहरुको रिसर्चको आधारभूत ज्ञान नै छैन। कुन विषयमा विद्यार्थीले बुझाएको थेसिस र पर्पोजलमा समावेश गरिनु पर्ने क्षेत्रहरु के के हुने, थेसिसको गुणस्तरताको मापन के हुन् आदि जस्ता कुराको समेत जानकारी नभएका रिसर्च विभागका प्राध्यापकहरुले हचुवाका तालमा विद्यार्थीलाई उत्र्तिण गराउँदा त्यसको नतिजा आज नेपालका कुनै पनि साना ठूला रिसर्च प्रोजेक्टहरुको लागि बाहिरबाट विज्ञहरु ल्याउनु परेको दयनिय अवस्था हो। हाम्रो विश्वविद्यालयले केवल लेवर उत्पादन गर्ने हो त ? विद्यार्थी संगठनहरुले आफूले आफैलाई सोध्ने प्रश्न हो।

राजनीतिक दलको बुई चढेर हिंसात्मक मनोवृत्तमा आफूलाई ढाल्ने र आन्दोलनको मुल मर्मलाई लत्याउने प्रणालीलाई बिर्सिएर आर्थिक उपार्जनको माध्यम राजनीति नबनाई वैचारिक र सृजनशिल आन्दोलन अगाडि बढाउन सके मात्र औचित्य माथिको सवाललाई गतिलो जवाफ दिन सक्ने आधार बन्छ।

आन्दोलनबाट विद्यार्थीहरुको निम्ति प्राप्त भएका केही उपलब्धीहरु जस्तै शैक्षिक ऋणको उपलब्धता, सवारी सहुलियत आदिलाई समेत सहज कार्यान्वयनमा ल्याएर सबैको पहुँचमा पुर्याउन सकिएको छैन। यस्ता विषयमा पनि आन्दोलन गम्भीर हुनु पर्ने हो।

राजनीतिक दलको बुई चढेर हिंसात्मक मनोवृत्तमा आफूलाई ढाल्ने र आन्दोलनको मुल मर्मलाई लत्याउने प्रणालीलाई बिर्सिएर आर्थिक उपार्जनको माध्यम राजनीति नबनाई वैचारिक र सृजनशिल आन्दोलन अगाडि बढाउन सके मात्र औचित्य माथिको सवाललाई गतिलो जवाफ दिन सक्ने आधार बन्छ। विश्वविद्यालय र यस अन्तर्गतका कलेजहरुमा पठन पाठनको स्तर तोक्न, सक्षम प्राध्यापक नियुक्ति गर्न, विश्वस्तरीय शैक्षिक नीति र प्रणालीलाई नेपाल मै अवलम्बनको निम्ति अभियान चलाउने र वार्षिक पढाइको नाममा विदेशिने दक्ष विद्यार्थीलाई नेपालमै राख्न, कुनै पनि वहानामा हुने वन्द र हडतालको प्रभाव शिक्षामा पर्न नदिने जस्ता सकारात्मक काममा विद्यार्थी संगठनहरुले कसरत गर्ने हो भने उनीहरुको औचित्य माथि प्रश्न उठाउनु कूनै पनि हालतमा युक्ति संगत होइन।

अन्तत : वैज्ञानिक शिक्षा प्रणाली, जीवनमूखी र जनमूखी शिक्षा, शिक्षामा राजनैतिक भागवण्डाको अन्त्य र नेपाली विश्वविद्यालयलाई विश्वस्तरका विश्वविद्यालयसँग जोड्ने शैक्षिक मापदण्ड र पूर्वाधारको विकास गर्ने जस्ता कार्यक्रम तर्फ अगाडि बढ्न एकिकृत माइण्डफोर्सको प्रयोग गर्दै बदनाम हुँदै गएको विद्यार्थी आन्दोलनलाई सर्वप्रिय बनाउनका निम्ति वैचारिक र सांगठानिक तयारीमा लाग्नु नै आज क्रियाशिल विद्यार्थी संगठनहरुको अपरिहार्यता हो।  अबको आन्द्धोलनमा विद्यार्थी संगठन जिम्मेवार बन्न जरुरी छ। यदि होईन भने विद्यार्थी संगठनको औचित्य नरहन पनि सक्छ। लेखक भुमिराज अधिकारी नेकपा निकट अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पसका विद्यार्थी नेता हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here