आज देखि विदेशबाट फर्किएकाको निःशुल्क सीप परीक्षण

5

काठमाडौं। सरकारले आज देखि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गर्ने भएको छ। यसअघि आवेदन दिइसकेका कामदारको आज देखि बैशाख ७ गतेसम्म निःशुल्क सीप परीक्षण गर्ने तालिका तय भएको हो।

सरकारले गत ०७५ मंसिरमा नै सीप परीक्षणका लागि इच्छुक कामदार सँग आवेदन मागेको थियो। जसमा झण्डै ५ सय कामदारले आवेदन दिएका थिए।

विदेशमा विभिन्न काम गरी सीप आर्जन गरेर फर्किएकाहरुको सीप परीक्षण गरेर स्वदेशमा प्रमाणपत्र दिन लागिएको वैदेशिक रोजगार व्यवस्थापन बोर्डले जनाएको छ।

यो परीक्षण पास भएर प्रमाणपत्र पाएपछि कामदारले स्वदेशमा रोजगारी पाउन सहज हुने र विदेश नै गएपनि राम्रो कमाइ गर्न सक्ने बोर्ड अपेक्षा छ।

बोर्डले राष्ट्रिय सिप विकास समितिमार्फत निःशुल्क यो परीक्षण गराएको थियो। चैत २० गते प्रदेश नम्बर १ मा इटहरी, प्रदेश नम्बर २ मा चैत २२ गते महोत्तरीको बर्दिवास, चैत २२ मै प्रदेश नम्बर ३ मा चितवन, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको धनगढी र चैत २६ गते भक्तपुरको सानोठिमीमासीप परीक्षण गर्ने कामदारलाई सहजीकरणका लागि अभिमुखीकरण आयोजना गरिएको थियो।

कामदारले प्रयोगात्मक परीक्षा दिएर सीप परीक्षा पास गर्नुपर्छ। यस्तो सीपको प्रमाणपत्र लिएकालाई देशभित्रै आत्मनिर्भर बन्ने गरी स्वरोजगर बन्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यो पटक २० वटा विषयमा सीपको परीक्षण गर्ने तयारी छ। स्क्रापफोल्डर, बिल्डिङ असिस्टेन्ट, वेटर, इलेक्ट्रिसियन, बिल्डिङ पेन्टर, हाउसकिपिङ क्लिनर, रेप्रिmजेनेटर एन्ड एअर कन्डिसन जुनियर मेकानिक्स र आल्मुनियम फेब्रिकेटर, सटरिङ कार्पेन्ट्रीमा काम गरेकाहरुको सीप परीक्षण हुनेछ ।

यस्तै टेलरिङ, फर्निचर मेकर, असिस्टेन्ट ब्युटिसियन, स्ट्रक्चरल फेब्रिकेटर, सेक्युरिटी गार्ड, इन्डेस्ट्रियल इलेक्ट्रिसियन, केयर गिभर, आर्क वेल्डर, एक्साभेटर अपरेटर, जुनियर प्लम्बर, स्टोन लेयर मेसन सीप परीक्षण प्रमाणीरकण गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here