काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेटौंडास्थित यातायात व्यवस्था कार्यालयका एक अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित कार्यालयमा कार्यरत अधिकृत अमृत भेटुवालले सवारी सरुवा सहमति गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा बिचौलियाको भूमिका निभाउँदै आएका लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिएको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिइएको थियो ।
आयोगका अनुसार भेटुवाल र पौडेलबीच मिलेमतो गरी सेवाग्राहीसँग घुस माग्ने र मोलतोल गरेर रकम लिने योजना बनाइएको पुष्टि भएको छ । सोही योजनाअनुसार ११ हजार ५ सय रुपैयाँ घुस लिएको प्रमाणित भएपछि दुवैविरुद्ध मुद्दा चलाइएको हो ।
आयोगले अधिकृत भेटुवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र बिगोबमोजिम जरिवानाको माग गरेको छ । साथै बिचौलिया पौडेललाई पनि सोही ऐनअनुसार कैद र जरिवाना हुनुपर्ने मागसहित काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ ।