काठमाडौँ । गुगलले बुधबार आफ्नो पछिल्लो इन्ट्री-लेभल स्मार्टफोन पिक्सेल १० ए (Pixel 10a) सार्वजनिक गरेको छ । ४९९ डलर मूल्य तोकिएको यो फोन नयाँ एआई सफ्टवेयर क्षमता र केही परिष्कृत हार्डवेयर अपडेटका साथ बजारमा आएको हो ।
यसको प्रि-अर्डर अहिले नै सुरु भइसकेको छ भने आगामी ५ मार्चदेखि शिपमेन्ट सुरु हुने जानकारी दिइएको छ । यो फोन ल्याभेन्डर, बेरी, फग र ओब्सिडियन गरी चार आकर्षक रङहरूमा उपलब्ध छ ।
डिजाइनको कुरा गर्दा पिक्सेल १० ए को पछाडिको भाग पूर्ण रूपमा समतल बनाइएको छ, जसले गर्दा क्यामेरा बार फोनको पछाडिको भागसँगै मिलेको देखिन्छ र समतल सतहमा राख्दा यो हल्लिँदैन । यसमा ६.३ इन्चको Actua डिस्प्ले रहेको छ, जुन अघिल्लो पिक्सेल ९ ए को तुलनामा ११ प्रतिशत बढी उज्यालो (bright) रहेको गुगलले दाबी गरेको छ ।
फोनमा गत वर्षको पिक्सेल ९ सिरिजमा प्रयोग गरिएको Tensor G4 चिप जडान गरिएको छ । क्यामेराको कुरा गर्नुपर्दा यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा र १३ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको छ । गुगलले यसलाई ५०० डलर मुनिको फोनमा उपलब्ध उत्कृष्ट क्यामेरा भनेर उल्लेख गरेको छ । यसमा Auto Best Take र Camera Coach जस्ता एआई-सञ्चालित फिचरहरू पनि थपिएका छन्, जसले प्रयोगकर्तालाई उत्कृष्ट फोटो खिच्न मद्दत पुर्याउँछन् ।
यसले ३० घण्टाभन्दा बढीको ब्याट्री लाइफ दिने र Extreme Battery Saver मोड अन गर्दा १२० घण्टासम्म चल्ने बताइएको छ । साथै यसमा अघिल्लो मोडेलको तुलनामा छिटो चार्ज हुने प्रविधि पनि समावेश गरिएको छ । सुरक्षाका लागि गुगलले पहिलो पटक ए-सिरिजमा Satellite SOS सुविधा ल्याएको छ, जसले वाईफाई वा सेलुलर नेटवर्क नभएको अवस्थामा पनि आपत्कालीन सेवाहरूसँग सम्पर्क गराउन मद्दत गर्दछ ।
पिक्सेल १० ए ले सात वर्षसम्मको सफ्टवेयर र सुरक्षा अपडेटहरू प्राप्त गर्नेछ । यद्यपि यसमा पिक्सेल १० का अन्य महँगा मोडेलहरूमा हुने PixelSnap म्याग्नेटिक क्यूआई चार्जिङ सुविधा भने उपलब्ध छैन । यसका साथै गुगलले पिक्सेल १० ए सँग मिल्दो हुने गरी बेरी र फग रङहरूमा Pixel Buds 2a पनि सार्वजनिक गरेको छ ।