काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले केही संस्थागत विद्यालयहरूले अझै पनि कानुन विपरीत शुल्क लिने कार्य गरिरहेको भन्दै पुन शुल्क फिर्ता गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको हो ।
कुनै पनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन पर्ने अवस्थामा गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरू र स्थानीय तहहरूबाट आवश्यक समन्वय हुन अनुरोध समेत गरिएको छ ।
साथै विद्यार्थीको शुल्कसम्बन्धी सिकायत एवं गुनासो रिपोर्टिङ तथा सहजीकरण प्रयोजनका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा ‘सहायता कक्ष’ स्थापना गरिएको मन्त्रालयका प्रवक्ता सापकोटाले बताए । सिकायत वा गुनासो भएमा सोही कक्षमा फोन गरी थप सहायता प्राप्त गर्न सकिने र सो कक्षको सम्पर्क व्यक्तिका रूपमा निर्देशक निमप्रकाश सिंह राठौर (फोन ९८५१२१४६३८)लाई तोकिएको छ।
यसअघि पनि मन्त्रालयले शैक्षिक सत्र सुरु हुन अगावै विद्यार्थी भर्ना नगर्न र शुल्क नलिन निर्देशन दिएको थियो । तर अझै केही संस्थागत विद्यालयहरूले मन्त्रालयको निर्देशन अटेर गरिरहेका छन् ।
