काठमाडौं । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको शल्यक्रिया गरिएको छ । एमआइसीएस प्रविधि प्रयोग गरी नेपालमै पहिलो पटक मुटुको प्वाल टालिएको शल्यक्रियाको नेतृत्व गरेका मुटुसर्जन प्रा.डा. अनिल भट्टराईले जानकारी दिए।
उनका अनुसार ओखलढुंगाका ४२ वर्षीय पुरुषको मुटुको प्वालको सफल ओपन हार्ट सर्जरी गरिएको हो । एमआइसीएस भन्नाले काखीमुनि सानो प्वाल पारेर गरिने आधुनिक शल्यक्रिया प्रविधि हो । यसमा छाती पूरै चिर्नु पर्दैन ।
‘पहिल्ला छातीको भाग चिरेर अप्रेशन गर्दै आएका थियौं । तर यो प्रविधिबाट शल्यक्रिया गर्दा सानो प्वाल पारेर गर्न सकिन्छ’ डा. भट्टराईले भने, ‘अब यस्ता शल्यक्रिया हामी निरन्तर गर्छौं ।’
छाती दुखेको समस्या लिएर करिब डेढ महिना ती बिरामी अस्पताल पुगेका थिए । इको-कार्डियोग्राफी गर्दा मुटुमा जन्मजात प्वाल अर्थात् भेन्ट्रिकुलर सेप्टल डिफेक्ट (भीएसडी) को समस्या भेटिएको थियो । अन्तिम विकल्प नै उनको शल्यक्रिया गर्नुपर्ने हुन्थो ।
ती बिरामी शल्यक्रियाका लागि एक साताअघि अस्पताल भर्ना भएका थिए । शल्यक्रियापछि स्वास्थ्य अवस्था सामान्य भएर ती बिरामी शुक्रबार डिस्चार्ज भएको डा.भट्टराईले जानकारी दिए ।
डा भट्टराईको नेतृत्वमा भएको शल्यक्रियामा डा. रवि बराल, डा प्रभात खकुरेल, डा समिर यादव र प्रा.डा. विश्वास प्रधान संलग्न थिए ।