×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

३.०७ अंकले घट्यो सेयर बजार

३.०७ अंकले घट्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको ‘करेक्सन’ आएको छ । आइतबार ५७ अंक बढेको नेप्से सूचक सोमबार ३.०७ अंक घटेको हो ।

सोमबार नेप्से सूचक सामान्य अंकले घटे पनि कारोबार रकमले बजारको उत्साह झनै थपेको छ । देशभरि चुनावी माहोल बढेसँगै सुधारको बाटोमा देखिएको सेयर बजारमा लगानीकर्ता फर्कने तथा लगानी बढाउने क्रम बढेसँगै कारोबार रकम १६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

नेप्से सूचक घटे पनि कारोबार रकममा देखिएको सुधारले आगामी दिनमा बजार सूचकको उकालो यात्रा कायम नै रहने संकेत गरेको छ । सोमबार नेप्से सूचक घट्ने बढ्ने गरेर बन्द भएको छ ।

कारोबार सुरु हुँदा २७७२.१७ अंकमा रहेको नेप्से बन्द ३.०७ अंकले घटेर २७६९.०९ अंकमा झरेको छ । सोमबार नेप्सेमा कारोबार भएका १ सय ६५ कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक नकारात्मक भएको नेप्सेले जनाएको छ ।

सोमबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २.३६, विकास बैंक ३.७८, वित्त १२.१४, लगानी ०.५९, जीवन बीमा ७१.४६, लघुवित्त २५.५४, निर्जीवन बीमा १९.३३, अन्य १२.४४ र व्यापार ४.७१ अंक घटेका छन् ।

तर होटल १२७.६८, जलविद्युत् ११.०४, उत्पादनमूलक ३८.९४ र सामूहिक लगानी कोष ०.१६ अंकले बढे पनि त्यसको असर नेप्सेमा न्यून देखियो ।

सोमबार नेप्सेमा कारोबार भएका ८८ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । नेप्सेमा एसवाई प्यानल, हिमस्टार, सान्भी पावर, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी सोमबार नेप्सेमा ३ सय ३२ कम्पनीको १ लाख ४७ हजार ६ सय ७६ कारोबारबाट १६ अर्ब ३५ करोड रुपैयाँ बराबरका ३ करोड ६२ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यो कारोबार रकम आइतबारको तुलनामा साढे २ अर्बले धेरै हो । आइतबार नेप्सेमा १३ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्